प्रदेशको प्राथमिकतामा शान्ति, सुरक्षा र विपद् व्यवस्थापन : सुरेन्द्रराज पाण्डे
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको शान्ति, सुरक्षा र विपद् व्यवस्थापनका क्षेत्रमा उच्चतम प्रयास भइरहेको बताएका छन्। प्रदेश सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रदेशमा कुनै प्रकारको भूमिगत सशस्त्र सङ्घर्ष नभएको र जातीय पहिचानका लागि खोलिएका सङ्घ संस्थाका माग सम्बोधन गरिएको जानकारी दिए। तर, उनले लागूऔषध दुरुपयोगलाई चुनौतीको रूपमा देखेका छन्।
मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालको दुरुपयोगबाट सुरक्षामा खतरा बढेको र आत्महत्या गर्ने दरमा वृद्धि भएको तथ्यांक प्रस्तुत गर्दै यसप्रति चिन्ता व्यक्त गरे। सहकारी घोटालामा ठुलो दुर्घटना गराउन खोजिए पनि त्यसो हुन नदिइएको उनले बताए।
प्रदेश प्रहरी ऐन २०७७ बने पनि सुरक्षाको जिम्मा प्रदेश सरकारको नभएकोमा उनले दुःख व्यक्त गर्दै संघीय सरकारको नेतृत्वले प्रहरी समायोजनमा सकारात्मक भूमिका नखेलेको आरोप लगाए। तीनै तहको सरकारबीच सहकार्य आवश्यक रहेको भन्दै उनले एक अर्कामा नकारात्मक टिप्पणी गर्दा राम्रो सन्देश नजाने बताए।
विपद् व्यवस्थापनका लागि प्रदेशमा १० करोड रुपैयाँ र जिल्ला तहमा १० लाख रुपैयाँको कोष स्थापना गरिएको उनले जानकारी दिए।









