थाइल्यान्डमा लोक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी फर्कियो नेपाल
काठमाडौँ । नेपालको 'एभरेस्ट नेपाल कल्चरल ग्रुप' थाइल्यान्डको बैंकक र पत्तयामा आयोजित 'अन्तर्राष्ट्रिय लोक सांस्कृतिक आदानप्रदान' कार्यक्रममा सहभागी भएर नेपाल फर्किएको छ। तीन दशकभन्दा बढी समयदेखि सांस्कृतिक आदानप्रदान गर्दै आएको यस ग्रुपले नेपालका विभिन्न लोक संस्कृतिहरू प्रस्तुत गरेको थियो।
यस टोलीको नेतृत्व डा. आरसी कोइराला 'रामचन्द्र'ले गरेका थिए। साथै, लुम्बिनी प्रदेशका कलाकारहरू लोकेन्द्र शाह, सावित्री बुढाथोकी (मिना), सुन्दर गुरुङ, डिल कुमारी उपाध्याय (प्रतिमा), मञ्जु दमाई, दावा शेर्पा (दर्पण), उषा खत्री, कमला प्रधान (रजनी), मोनिका राना, लीला घिमिरे, माया बस्याल आदि सहभागी थिए।
कार्यक्रमको क्रममा, डा. कोइरालाले स्थानीय नगरपालिकाका प्रमुख र अन्य उपस्थित महानुभावसँग भेट गरी नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि सरकारी र गैरसरकारी निकायहरूको सहयोगमा विशेष कार्यक्रमहरूको आयोजना गर्ने सम्भावनाबारे छलफल गरेका थिए।









