को बने नेपोनको अध्यक्ष ?
काठमाडौँ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (नेपोन) को छैटौँ राष्ट्रिय महाधिवेशनमा विनोद पाण्डे पुनः अध्यक्षमा चयन भएका छन्। महाधिवेशनमा क्याप्टेन लालकाजी गुरुङ उपाध्यक्ष, मदन केसी महासचिव, तीर्थराज घिमिरे उपमहासचिव, केदारप्रसाद देवकोटा सचिव (सङ्गठन विभाग), नारायणबहादुर श्रेष्ठ सचिव (विदेश विभाग), ध्रुवराज कार्की सचिव (प्रचार विभाग), र चन्द्रकुमार महतरा सचिव (अर्थ) का रूपमा निर्वाचित भएका छन्।
महाधिवेशनबाट लेखा आयोग अध्यक्षमा मनोहरि कार्की, अनुशासन आयोगमा मिठाराम केसी, भेटरन कमिटी आयोगमा पुष्पराम केसी, सुरक्षा तथा स्वयंसेवक आयोगमा उद्धव रावल, निर्वाचन आयोगमा सुधीर थापा, र सल्लाकार आयोगमा रवीन्द्र कार्की निर्वाचित भएका छन्। यसरी, ९९ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ।
महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त मुलुकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकताको आवश्यकता औंल्याए। रक्षामन्त्री मानवीर राईले विपद्को समयमा नेपोनको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्दै जीवनको ऊर्जाशील समय देशको सुरक्षामा खटेर बिताउनु सराहनीय भएको बताए।
नवनिर्वाचित अध्यक्ष पाण्डेले राष्ट्रको सुरक्षा र विकासमा भूतपूर्व सैनिक र प्रहरीहरूको योगदानलाई थप सुदृढ गर्न प्रतिबद्धता जनाए। उनी अवकाश प्राप्त सहायक रथी हुन् र २०७८ चैत १६ मा सम्पन्न पाँचौँ महाधिवेशनबाट पहिलो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थिए।









