प्रदर्शनका कारण सवारी आवागमनमा समस्या उत्पन्न ,वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काठमाडौँ - काठमाडौंको माइतीघर–नयाँबानेश्वर सडकखण्डमा प्रदर्शनका कारण यातायात व्यवस्था प्रभावित भएको छ। ट्राफिक प्रहरीले सवारी चालकलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार, माइतीघरबाट बबरमहल हुँदै नयाँबानेश्वरसम्मको सडकखण्डमा सवारी साधनलाई विभिन्न स्थानबाट डाइभर्सन गरिएको छ। साना र दुई पाङ्ग्रे सवारी साधनलाई नयाँबानेश्वरबाट डाइभर्सन गरिएको छ। यस्तै, नयाँबानेश्वरतर्फ जाने सवारी साधनलाई माइतीघरबाट डाइभर्सन गरिएको छ। भाडाका सवारी साधनलाई तीनकुने, रणोदिप र कृष्णपाउरोटीबाट डाइभर्सन गरिएको छ।
डाइभर्सनका कारण माइतीघर, सिंहदरबार दक्षिणगेट, अनामनगर, हनुमानथान, थापागाँउ हुँदै चल्ने सवारी साधन लामो जाममा फसेका छन्। पिक आवरमा बढेका सवारी साधनका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सवारी साधन केही समयका लागि रोकिएका छन्।
ट्राफिक प्रहरीले सवारी चालकलाई वैकल्पिक मार्गको प्रयोग गर्न र धैर्य राख्न अनुरोध गरेको छ।









