ट्रेड टावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन
काठमाडौँ - ट्रेड टावर लिमिटेडले सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ। यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजीको ४८.६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी सेयरहरू कुल ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरका छन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजदेखि वैशाख २२ गतेसम्म न्यूनतम १० र अधिकतम १,००० कित्तासम्म आवेदन दिन सक्नेछन्। यसका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिइएको छ।
कम्पनीले आईपीओबाट उठेको रकमलाई लक्ष्मी सनराइज बैंकको ३० करोड रुपैयाँ ऋण र ब्याज भुक्तानी, होटल क्रिस्टल पशुपतिको क्षमता वृद्धि र ट्रेड टावर थापाथलीस्थित भवनको छाना मर्मतमा प्रयोग गर्ने योजना बनाएको छ ।
ट्रेड टावर लिमिटेडले तीन वर्ष लगातार नाफा कमाएको र आगामी तीन वर्षमा थप नाफा वृद्धि गर्ने लक्ष्य राखेको जनाएको छ।









