पौडी खेल्दा तीन बालक बेपत्ता, रुपन्देही
काठमाडौँ - रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा आज दिउँसो पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सोही ठाउँका १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन रहेका छन्। उनीहरू दिउँसो करिब साढे १२ बजे नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन्।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बयरघाटबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरूको खोजीकार्यमा परिचालन भएको छ। सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थलमा पुगेर खोजी कार्यमा जुटेको छ।
यस घटनामा हालसम्म कुनै शव फेला परेको छैन। प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा बालकहरूको खोजी कार्य जारी रहेको छ।









