प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विद्युतमन्त्रीको शिष्टाचार भेट ( तस्बिरहरू )
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले शिष्टाचार भेट गरेका छन्। यो भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भएको थियो। भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
पछिल्ला दिनमा दुई देशबीचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास हुँदै गएको विषयमा उनीहरू बीच छलफल भएको बताइएको छ। भारतीय मन्त्री खट्टरले अरुण–३ जलविद्युत आयोजना क्षेत्रमा स्थलगत भ्रमण गरी प्रगतिबारे जानकारी लिएको अवगत गराएका थिए। उक्त आयोजनालाई थप गति दिने भारतीय मन्त्री खट्टरले बताए।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तव, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए।















