नेपालसहित चार देशका एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने
काठमाडौँ - अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (DOGE) ले नेपालसहित मंगोलिया, सेनेगल र आइभरी कोष्टका Millennium Challenge Corporation (MCC) परियोजनाहरूलाई निरन्तरता दिने निर्णय गरेको छ। यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ को जनवरी २० मा कार्यकारी आदेश जारी गर्दै ९० दिनको लागि विदेशी विकास सहायता निलम्बन गर्ने निर्णय गरेका थिए। यस आदेशले नेपालका MCC परियोजनाहरूलाई अस्थायी रूपमा प्रभावित गरेको थियो। तर, पछिल्लो निर्णयले यी परियोजनाहरूलाई पुनः सक्रिय बनाएको छ ।
नेपालमा MCC अन्तर्गत विद्युत प्रसारण र सडक पूर्वाधारका लागि ५०० मिलियन डलरको अनुदान प्राप्त परियोजनाहरू अघि बढिरहेका छन्। यी परियोजनाहरूले नेपाल र भारत बीचको विद्युत व्यापारलाई सुदृढ पार्ने उद्देश्य राखेका छन्। अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, हालसम्म नेपालले MCC बाट कुनै पनि अनुदान भुक्तानी स्थगनको पत्र प्राप्त गरेको छैन, र परियोजनाहरूको कार्यान्वयन निरन्तर भइरहेको छ ।
यस निर्णयले नेपालका विकास योजनाहरूमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। सरकार र MCC बीचको सहकार्यले नेपालको पूर्वाधारमा सुधार ल्याउने र दीगो आर्थिक वृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।









