सुदीपको न्यायको लागी पाकिस्तानी दूतावास अगाडि प्रदर्शन
काठमाडौँ - नेपालका नागरिक समाज, व्यापारी संघ र विद्यार्थी संगठनहरूले भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा प्रदर्शन गर्ने तयारी गरेका छन्। मङ्गलबारको हमलामा बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेको ज्यान गएको थियो। उनी आफ्नो आमा र परिवारका अन्य सदस्यसँग कश्मीरको मिनी स्विज भनिने वैसरण उपत्यकामा घुम्न गएका थिए। आतङ्ककारीहरूले सुदीपलाई नाङ्गो बनाएर गोली हानी हत्या गरेका थिए।
नेपाल नागरिक अभियाले आतङ्कवाद विरुद्ध ऐक्यबद्धता जनाउँदै काठमाडौँको चुनदेवी मन्दिर परिसरमा विरोध प्रदर्शन गर्ने जनाएको छ। शनिबार प्रदर्शन गर्ने तयारी गरिएको र यसमा नेपाली कांग्रेस आदिवासी जनजाति विभाग र त्रिचन्द्र क्याम्पस नेपाल विद्यार्थी युनियन (नेविसंघ) ले पनि सहभागिता जनाउने छन्। दुवै समूहले पाकिस्तानी दूतावास अगाडि धर्ना दिने बताएका छन् र जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई जानकारी गराएका छन्। उनीहरूले घटना लगत्तै पाकिस्तानी सैनिक जनरल असिम मूनिरले दिएको अभिव्यक्तिलाई आपत्तिजनक भन्दै पाकिस्तानकै योजना अनुसार हिन्दू पर्यटकमाथि आक्रमण भएको दाबी गरेका छन्।
नेपाल सरकारले पनि उक्त आतङ्कवादी हमलाको घोर निन्दा गर्दै भारत सरकार र जनतासँग एकजुटता जनाएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणाले घटनामा कुनै नेपाली नागरिकको संलग्नता भएको पुष्टि नभएको जानकारी दिएकी छन्।
सुदीपको शव बुधबार नै बुटवल ल्याएर अन्त्येष्टि गरिएको छ। उनकी आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्विजल्याण्डसमेत भनिने वैसरण उपत्यकामा हिउँ खेल्ने र घुम्ने उद्देश्यले पाहलगमा पुगेका थिए।
यस घटनाले नेपाल र भारतबीचको आतंकवादविरुद्धको साझा लडाइँमा नयाँ आयाम थपेको छ र नेपाली जनताले यसमा आफ्नो गहिरो चासो र एकजुटता देखाएका छन्।









