कार्कीमाथि भएको घटनाप्रति नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण
काठमाडौँ - नेपाल पत्रकार महासङ्घले प्राइम टेलिभिजनकी पत्रकार सविना कार्कीमाथि भएको प्रहरीको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। महासङ्घका महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै उक्त घटनालाई प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात भएको बताएका छन्।
काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीचको झडपको समाचार सङ्कलन गर्दै गर्दा प्रहरीले हानेको पानीको फोहोरा सिधै पत्रकार कार्कीको आँखामा पर्दा उनी घाइते भएकी हुन्। उनीलाई सिभिल अस्पताल र ट्रमा सेन्टर हुँदै तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ।
महासङ्घले पत्रकार कार्कीमाथि भएको आक्रमणलाई अत्यन्त निन्दनीय र खेदजनक भन्दै दोषीमाथि कडा कारबाही गर्न र घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन माग गरेको छ। यसैगरी, महासङ्घले यस्ता घटनाको पुनरावृत्ति रोक्न र पत्रकारहरूको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।









