अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौँ - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१० मा आइतबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। लु ६० प ९७८५ नम्बरको मोटरसाइकल अर्घा मन्दिरबाट सन्धिखर्कतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो।
दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जाको वालिङ नगरपालिका–८ का ६० वर्षीय डम्बर बहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीको मालारानी गाउँपालिका–५ बागी बस्ने २६ वर्षीय सुनिता खड्का घाइते भएकी छन्। उनको हात, खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ।
दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची लगिएकोमा चिकित्सकले चालक खत्रीलाई मृत घोषणा गरेका छन्। मोटरसाइकल अनियन्त्रित भई करिब २५ मिटर तल खसेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।









