रोकिराखेको ट्रकमा ठोक्किएर यात्रुवाहक बसको दुर्घटना
काठमाडौँ - जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित ३ नम्बर पुल नजिक सोमबार बिहान यात्रुवाहक बस र ट्रक बीचको ठक्करमा १९ जना घाइते भएका छन्। काँकरभिट्टाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६५५ नम्बरको बसले सडक छेउमा बिग्रिएर रोकिराखेको प्रदेश २–०३–००१ ख ५१८७ नम्बरको कोइला लोड भएको लहरी ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि बस अनियन्त्रित भई सडकभन्दा ५ मिटर तल खसेको थियो।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार घाइतेहरूको अवस्था सामान्य छ। घाइतेमध्ये ९ जनालाई हेटौँडाको सहकारी अस्पताल र १० जनालाई वीरगन्जको वयोधा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाग्रस्त बस र चालक तिलक बहादुर थापा मगरलाई इलाका प्रहरी कार्यालय अम्लेखगञ्जको नियन्त्रणमा राखिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।









