कस्तो छ पत्रकार कार्कीको आँखाको अवस्था?
काठमाडौँ - प्राइम टेलिभिजनकी पत्रकार सविना कार्कीको दुवै आँखामा गम्भीर चोट लागेको छ। शिक्षक आन्दोलनका क्रममा प्रहरीले प्रहार गरेको पानीको फोहोरा लागेर उनको आँखामा चोट लागेको हो। घाइते पत्रकारलाई सिभिल अस्पताल र ट्रमा सेन्टर हुँदै अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ।
उनको उपचारमा संलग्न डाक्टर शिवान्सी श्रेष्ठका अनुसार, दुवै आँखामा रगत जमेको (हाइफिमा) र आँखाको भित्री भागमा चोट लागेको छ। यसका कारण दृष्टि (भिजन) एकदमै कम भएको र आँखाको भित्री पर्दाको अवस्था स्पष्ट देख्न नसकिने अवस्था रहेको बताइएको छ। चोटका कारण आँखाको दबाव (आइ इन्ट्राआकुलर प्रेसर) पनि बढेको छ।
हाल, आँखा भित्रको रगत हटाउन औषधि उपचार सुरु गरिएको छ। हाइफिमा हटेपछि मात्र रेटिना र भित्री पर्दामा भएको थप चोटको अवस्था यकिन गर्न सकिने डाक्टर श्रेष्ठले बताइन्।









