शिक्षा ऐनमा 'स्कुल ब्याग पॉलिसी' समावेश गर्न नेविसंघको माग
काठमाडौँ - नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्यको संरक्षणका लागि विद्यालय शिक्षा ऐनमा 'स्कुल ब्याग नीति' समावेश गर्न सरकारसँग माग गरेको छ। संघका अनुसार, अत्यधिक भारी शैक्षिक सामग्रीका कारण विद्यार्थीहरूमा मेरुदण्ड र मानसिक दबाबका समस्या देखिन थालेका छन्, जसले सिकाइ प्रक्रियामा नकारात्मक असर पुर्याएको छ।
नेविसंघले विद्यालयमा प्रविधिमैत्री सिकाइको प्रवद्र्धन गर्दै, पाठ्यपुस्तक र शैक्षिक सामग्रीलाई डिजिटलाइज गर्ने, विद्यालय प्राङ्गणमा सामग्री सुरक्षित राख्ने भण्डारण प्रणाली निर्माण गर्ने र सिकाइमा प्रविधिको अधिकतम प्रयोग बढाउन सरकारलाई आग्रह गरेको छ।
यसका साथै, विद्यार्थीहरूको झोलाको तौल व्यवस्थापन गर्न विशेष नीति आवश्यक रहेको भन्दै, स्कुल ब्याग नीति तर्जुमा गरी प्रस्तावित विद्यालय शिक्षा ऐन अन्तर्गत आउने नियमावली वा निर्देशिकामा समावेश गर्नुपर्ने माग गरिएको छ।
प्रविधिमैत्री सिकाइ र झोला नीतिको कार्यान्वयनले विद्यार्थीको समग्र शैक्षिक तथा व्यक्तिगत विकासमा सकारात्मक प्रभाव पर्ने नेविसंघको विश्वास छ।









