नेपाल राष्ट्र बैंकले हालै ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गर्दै
काठमाडौँ - नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ। यसका लागि बैंकले बुधवार राति १२ बजेसम्म आवेदन दिन आग्रह गरेको छ।
राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै उक्त रकम लगानी गर्न लागेको जनाएको छ। केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न सूचना मार्फत आग्रह गरेको छ।
राष्ट्र बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको बताएको छ। राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ३ अर्ब ७ करोड ५२ लाख, ‘ख’ वर्गका बैंकले ५७ करोड ६५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १९ करोड २१ लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने जनाएको छ।
त्यसको लागि बैंक केही शर्तहरू लागू हुने पनि जनाएको छ। जसमा बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत सर्त राखिएको छ।









