बलात्कार आरोप लागेका विदुर शर्माविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय
काठमाडौँ - किशोरीलाई बलात्कार आरोप लागेका निर्माण व्यवसायी विदुर शर्माविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गरिएको छ ।
उनी नेकपा (एमाले) दोलखाको जिल्ला समितिको सहसचिव पदमा प्रतिस्पर्धा गरेका थिए । २०८१ वैशाखमा १९ वर्षीय किशोरीले उनीबिरुद्ध आफूलाई काठमाडौँको ठमेल स्थित एक होटलमा लगेर बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन् । प्रहरीको राय अनुसार जिल्ला सरकारी वकिल कार्यालयले उनीबिरुद्धको जाहेरी तामेलीमा राखेको हो ।
पीडितले प्रहरी वृत्तमा जाहेरी दिएपछि ४५ वर्षीय शर्मा लामो समय फरार भए । पीडित किशोरीलाई पनि उनले बयान फेन बाध्य बनाएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका एकजना अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘पीडित महिलालाई हुलाकबाट आफूले आवेशमा जाहेरी दर्ता गराएको भनेर पत्र पठाउन लगाएर उनले जाहेरी तामेलीमा राख्ने वातावरण बनाए ।’
२०८१ वैशाख १९ मा जागिर लगाइदिने प्रलोभन देखाएर आफूलाई होटलमा लगेर बलात्कार गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् ।









