नेपाल–अजरबैजान सम्बन्धमा नयाँ आयाम, राष्ट्रपति पौडेल र उपविदेशमन्त्री मामेडोभबीच भेटवार्ता
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेल र अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभबीच शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
राष्ट्रपतिको सचिवालयका अनुसार, भेटमा दुई देशबीचको सम्बन्ध र भावी सहकार्यका विषयमा कुराकानी भएको थियो। राष्ट्रपति पौडेलले हालैको समय दुई देशबीचको सम्बन्धमा सकारात्मक प्रगति भएको उल्लेख गर्दै सम्भावित सहकार्यका क्षेत्रहरूको पहिचान गरी संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिए।
उनले हालै अजरबैजानमा सम्पन्न कोप-२९ सम्मेलनमा आफ्नो सहभागिताको स्मरण गर्दै उक्त भ्रमणले द्विपक्षीय सम्बन्धमा नयाँ उचाइ थपेको विश्वास व्यक्त गरे।
उपविदेशमन्त्री मामेडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताए। उनले विगत ३० वर्षमा कुनै समझदारीपत्रमा हस्ताक्षर नभएको भए पनि अब चाँडै दुई मुलुकबीच सहमति पत्रहरूमा हस्ताक्षर हुने गरी तयारी भइरहेको जानकारी दिए।
भेटवार्ताले नेपाल–अजरबैजान सम्बन्धलाई थप सुदृढ र प्रभावकारी बनाउने आशा गरिएको छ।









