सूर्यविनायक–जगाति सडकमा वर्षाका कारण एकतर्फी यातायात सञ्चालन
काठमाडौँ - गएरातिदेखिको वर्षाका कारण भक्तपुरको सूर्यविनायक–जगाति सडकमा आवतजावतमा समस्या उत्पन्न भएको छ। जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी निरीक्षक प्रदीप खत्रीका अनुसार, निर्माणाधीन सडक हिलाम्मे र चिप्लो भएपछि जोखिम बढेको भन्दै काभ्रेपलाञ्चोक जाने सवारीसाधनलाई एकतर्फी सञ्चालन गरिएको जानकारी दिएका छन्।
सडकमा सवारी चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधनलाई मात्र अनुमति दिइएको छ। भक्तपुर हुँदै काभ्रे जाने हल्का सवारीसाधनलाई जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकमार्फत डाइभर्सन गरिएको छ। ठूला मालवाहक सवारीसाधनलाई भने सल्लाघारीको चौर र जगातिमा रोकिएको छ।
सडक निर्माणाधीन अवस्थामा रहेको र वर्षाका कारण हिलाम्मे हुने हुँदा सवारीसाधनलाई एकतर्फी सञ्चालन गरिएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिएका छन्। सडकमा गाडी चिप्लिएर सयौँ फिट तल खस्ने जोखिम रहेकाले सुरक्षा सुनिश्चित गर्न एकतर्फी यातायात व्यवस्था गरिएको हो।
यात्री र सवारी चालकलाई असुविधा नहोस् भन्नका लागि वैकल्पिक मार्गको प्रयोग गर्न र सडकमा अतिरिक्त सतर्कता अपनाउन अनुरोध गरिएको छ।









