तीनकुनेमा प्रदर्शनका क्रममा पक्राउ परेका ६ जना हिरासतबाटै १२ को परीक्षा दिँदै
काठमाडौँ - काठमाडौँको तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जना परीक्षामा सहभागी भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराका अनुसार, पक्राउ परेकाहरूमा १९ वर्षीय दिनेश महतोसहित अन्य ५ जना रहेका छन्। उनीहरू प्रहरी हिरासतमा रहँदै परीक्षा दिइरहेका छन्।
पक्राउ पर्नेमा सिराहा घर भएका दिनेश महतो, सिन्धुपाल्चोकका दावा शेर्पा, स्याङ्जाका सौगातकुमार बिक, धादिङका सरोज थापा, नुवाकोटका सिमन घले र भारतीय नागरिक अमन साकिन रहेका छन्। महतोलाई भाटभटेनीबाट चुरोट र रक्सी चोरी गरेको आरोपमा पक्राउ गरिएको थियो। एसपी बोहोराका अनुसार, मातहतका प्रहरी वृत्तका थुनुवालाई पनि भद्रकालीस्थित परिसरमा ल्याएर परीक्षामा सहभागी गराइएको छ।









