बुटवल बहुमुखी क्याम्पसका एक नेतामाथि परीक्षा फारम रकम हिनामिना गरेको आरोप
काठमाडौँ - बुटवल बहुमुखी क्याम्पसका बीए चौथो वर्षका विद्यार्थी विवेक कुँवरमाथि परीक्षा फारमको रकम हिनामिना गरेको आरोप लागेको छ। अनेरास्ववियूका एक नेताका रूपमा चिनिएका कुँवरले १२ जनाभन्दा बढी विद्यार्थीसँग परीक्षा फारमको रकम लिएका थिए, तर ती फारमहरू नभरिएको उजुरी परेको छ।
क्याम्पसले वैशाख १९ गते एक सूचनामार्फत कुँवरले कागजात र रकम लिएका तर फारम नभरिएको उल्लेख गरेको छ। क्याम्पसले उनलाई निलम्बन गरी प्रवेशमा रोक लगाएको जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्र बहादुर रानाका अनुसार, कुँवरले विद्यार्थीहरूको प्रथम वर्षको भर्नाका लागि पैसा र कागजात लिएका थिए, तर ती विद्यार्थीहरूले न त फारम भरेका छन् न त रकम फिर्ता पाएका छन्।
क्याम्पस प्रमुख डा. अरुण कुमार क्षेत्रीका अनुसार, चौथो वर्षका ९–१० जना विद्यार्थीले यसबारेमा सम्पर्क गरेपछि यो घटना थाहा भएको हो। उनले भने, “अन्य कतिलाई पनि यस्तो गरेको होला।”
तर, विवेक कुँवरले आफूले धेरै फारम लिएको र भर्ने बेलामा केही छुटेको हुन सक्ने बताएका छन्। उनले भने, “तर त्यसलाई मिलाउने प्रयास गर्दैछु।”









