नेप्से परिसूचकमा गिरावट, कारोबार रकममा पनि कमी
काठमाडौँ - साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। नेप्से परिसूचक ३.४४ अंकले घटेर २,६२०.३९ विन्दुमा पुगेको छ। यसैगरी, सेन्सेटिभ इन्डेक्स ०.५१ अंकले र फ्लोट इन्डेक्स ०.०७ अंकले घटेका छन् भने सेन्सेटिभ फ्लोट इन्डेक्स भने ०.०६ अंकले बढेको छ।
आजको कारोबारमा ३२२ कम्पनीका २ करोड १९ लाख ५ हजार कित्ता सेयर ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। अघिल्लो कारोबारको तुलनामा कारोबार रकममा कमी आएको छ। बुधबार ९ अर्ब ३७ करोडको कारोबार भएको थियो।
आइतबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ।
नेप्से परिसूचक सामान्य अंकले घटेपनि ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्यूटिकल्सका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका हुन्।
तर, कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर कम्पनीको ६० करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।









