विषादीका कारण रामपुरका जयनारायण न्यौपानेको मौरी उद्योग सखाप
काठमाडौँ - रामपुर नगरपालिका–६, किसानटोलका जयनारायण न्यौपानेका लागि मौरीपालन जीवनको अभिन्न हिस्सा थियो। वर्षौंदेखि उनले बगैँचामा मौरीको हेरचाह गर्दै समय बिताउँथे र यसबाट वार्षिक रु ५ देखि ६ लाखसम्म आम्दानी गर्थे। तर हालै, छिमेकीले खेतबारीमा विषादी छर्किँदा उनका ८५ गोलाघारमा रहेका मौरी मरेर सखाप भएका छन्। यसबाट उनी रु ७ लाख बराबरको नोक्सानीमा परेका छन्।
न्यौपानेका अनुसार, मौरीको प्रागसेनले बाली बिरुवालाई राम्रो बनाउँछ र चरनका लागि मौरी बिहान ३ः३० बजे नै निस्केर ९ः०० बजे घारमा फर्कन्छन्। तर विषादी छर्किँदा मौरीको मृत्यु भएको उनले बताए। यस घटनाले उनीलाई गहिरो मानसिक आघात पुर्याएको छ।
नेपालमा विषादीको अत्यधिक प्रयोगका कारण मौरीको संख्या घट्दै गएको छ। पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, गुल्मी, झापा लगायतका जिल्लामा मौरीको मृत्युका घटनाहरू बढिरहेका छन्। विशेषज्ञहरूले यसको प्रमुख कारण विषादीको अत्यधिक प्रयोग, जलवायु परिवर्तन र बालीमा पोषक तत्वको कमीलाई बताएका छन् ।
न्यौपानेले मौरीपालन व्यवसायको संरक्षणका लागि स्थानीय निकायबाट किसानलाई चेतनामूलक कार्यक्रम ल्याउन र विषादी प्रयोगका उपयुक्त समयका बारेमा जानकारी दिनुपर्ने बताएका छन्।









