बागमती प्रदेश सरकारले जेठ ५ गते बजेट अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय
काठमाडौँ - बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न प्रदेशसभाको वर्षे अधिवेशन जेठ ५ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले बजेट अधिवेशन ५ गते बिहान ११ बजेका लागि बोलाउने गरी प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिएका छन्।
यसअघि, प्रदेशसभाको हिउँदे अधिवेशन चैत २० गते अन्त्य भएको थियो। सत्तापक्ष र प्रतिपक्ष दलहरू बीचको विवादका कारण चैत १९ र २० गतेका लागि आह्वान गरिएको बैठकसमेत बस्न नसकेपछि सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेको थियो।
प्रदेशसभामा विचाराधीन ४ वटा विधेयकका प्रतिवेदनसमेत होल्ड भएका छन्।









