नेपाल प्रहरीले ४० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ
काठमाडौँ - नेपाल प्रहरीले अवैध हुन्डी कारोबारमा संलग्न दुई जनालाई ४० लाख ३२ हजार ५ सय रुपैयाँ नगदसहित पक्राउ गरेको छ। मंगलबार साँझ ६ः१५ बजे जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले काठमाडौं महानगरपालिका वडा नं. २४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलामा खानतलासी गर्दा सो रकमसहित ती व्यक्तिहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको कलकत्ता घर भई काठमाडौं महानगरपालिका वडा नं. २३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देही घर भई चन्द्रागिरि नगरपालिका वडा नं. १५ तिनथाना बस्ने ६३ वर्षीय धर्म प्रसाद ढकाल रहेका छन्। उनीहरूको साथबाट नगद रकम र दुई थान मोबाइलसहित विभिन्न बचत तथा ऋण सहकारी संस्थाको हस्ताक्षर मात्र गरेको खाली चेक पनि बरामद भएको प्रहरीले जनाएको छ।









