शिक्षा मन्त्रालयको नयाँ निर्देशन: बिरामी बिदामा सार्वजनिक बिदा पनि गणना हुने
काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको बिरामी बिदामा सार्वजनिक बिदा परे पनि ती दिनहरूलाई बिरामी बिदामा गणना हुने निर्णय गरेको छ। राष्ट्रिय किताव खानाले यस विषयमा मन्त्रालयसँग औपचारिक स्पष्टीकरण मागेपछि सचिवस्तरीय निर्णय गर्दै उक्त व्यवस्था लागू गरिएको हो।
यसअघि, शिक्षकहरूले बिरामी बिदामा रहेका बेला सार्वजनिक बिदा परेमा ती दिनहरूको गणना बिरामी बिदामा हुने वा नगर्ने भन्ने विषयमा स्पष्टता थिएन। मन्त्रालयको नयाँ निर्णय अनुसार, अबदेखि बिरामी बिदामा रहेका शिक्षकहरूको बिरामी बिदा अवधिमा सार्वजनिक बिदा परेमा ती दिनहरू पनि बिरामी बिदामा गणना गरिनेछ।
उदाहरणका लागि, यदि शिक्षकले शुक्रबारदेखि आइतबारसम्मको तीन दिनको बिरामी बिदा स्वीकृत गरेका छन् भने, शनिबारको सार्वजनिक बिदा समेत गरी ती तीन दिनलाई बिरामी बिदामा गणना गरिनेछ।









