नेपाली कांग्रेसका सांसद दीपक गिरीद्वारा एनआरएन नागरिकता कार्यान्वयनको माग
काठमाडौँ - नेपालको प्रतिनिधि सभामा बुधबार भएको बैठकमा नेपाली कांग्रेसका सांसद दीपक गिरीले संविधानले व्यवस्था गरेको सबै अधिकार पाउने गरी गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
पूर्वमन्त्रीसमेत रहेका गिरीले एनआरएनलाई नेपालको विकासका साझेदारको रूपमा सम्मान गर्दै नेपाली नागरिक सरह उनीहरूलाई पनि नेपालमा लगानी गर्ने कानूनी व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
गिरीले विश्वभरिबाट भेला भएका गैर आवासीय नेपालीहरूले एकता महाधिवेशनबाट सर्वसम्मतिले नयाँ नेतृत्व चयन गरेको भन्दै अध्यक्ष महेश श्रेष्ठ लगायत पुरै टिमलाई बधाई पनि दिए।
सोही बैठकमा एमाले सांसद ठाकुर गैरेले एनआरएनए एकताबद्ध हुनुपर्नेमा जोड दिए। उनले अहिले पनि एनआरएनसँग सम्बन्धित केही विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै नयाँ समिति गठनको समाचारले एनआरएन विभाजित भएको देखिएको बताए। गैरेले अहिलेको आवश्यकता उनीहरूको बीचमा एकता कायम गर्नुपर्ने, सामूहिकतालाई बलियो बनाउनु पर्ने र त्यसको माध्यमबाट नेपालको हितमा थप काम गर्नुपर्ने रहेको बताए।
बैशाख २० र २१ गते शेष घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा आयोजित महाधिवेशनले महेश कुमार श्रेष्ठको नेतृत्वमा पुरै कार्यसमिति सर्वसम्मतिले चयन गरेको थियो। तर बद्री केसीले नेतृत्व गरेको समूहले भने आगामी अक्टोबर महिनामा छुट्टै अधिवेशन गर्ने बताएको छ।









