राप्रपाका अध्यक्ष थापाको हिन्दुराष्ट्र र राजसंस्थासहितको आन्दोलन जारी राख्ने प्रतिबद्धता
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा स्थापित नभएसम्म राष्ट्रवादीहरूको आन्दोलन निरन्तर जारी रहने बताएका छन्। उनले राप्रपाका नेता राजेन्द्र लिङदेनलाई धन्यवाद दिँदै भने, "राष्ट्रवादी आन्दोलनलाई सफल पार्ने जिम्मेवारी अब लिङदेनको काँधमा पुगेको छ।"
कमल थापाले नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको पत्रकार सम्मेलनमा आफ्नो भनाइ राख्दै भने, "हामीहरू हिन्दुराष्ट्रको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने प्रतिबद्धताका साथ एक ठाउँमा भेला भएका छौँ। हाम्रो एकतालाई अब कसैले चाहेर पनि कमजोर पार्न र फुटाउन सक्दैन।"
उनले राष्ट्रवादी शक्तिहरू एकतावद्ध भएर चाँडै भ्रष्ट व्यवस्था र कुशासनबाट मुलुकलाई मुक्त तुल्याउने भन्दै हिन्दुराष्ट्रको पुनःस्थापना गरी आर्थिक सुशासन कायम गर्ने दाबी गरे।
यसैबीच, राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा थापाले यस्तो बताएका हुन्।









