स्वास्थ्य मन्त्री पौडेलको घोषणा: भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइको सुरुआत
काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ (PICU) को उद्घाटन गर्दै बालबालिकाको क्यान्सर उपचारलाई सहज र सुलभ बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले विदेशमा उपचारका लागि जाने बालबालिकाको सङ्ख्या घटाउने उद्देश्यले अस्पतालका सुविधा विस्तार गर्न लागिएको बताए।
मन्त्री पौडेलले भने, "हामीले बाल क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेपछि भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइको सुरुआत गरेका हौँ। यसले बालबालिकालाई उच्चस्तरीय उपचार सेवा प्रदान गर्नेछ।"
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिए अनुसार, यस एकाइमा बालबालिकाका लागि आइसीयुका चार, दिवा हेरचाहका चार र साधारण शय्या सात रहेका छन्। यसका साथै, अस्पतालमा अन्य सेवा र सुविधा विस्तारका लागि योजना अघि बढाइएको मन्त्रालयले जनाएको छ।









