हेटौँडामा तीनदिने युवा सम्मेलन सुरु
काठमाडौँ - बागमती प्रदेश युवा परिषद्को आयोजनामा आइतबारदेखि हेटौँडामा तीनदिने युवा सम्मेलन सुरु भएको छ। मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यतामा सम्मेलनको उद्घाटन भएको हो। सम्मेलन मङ्गलवारसम्म सञ्चालन हुनेछ।
सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट १६ देखि ३० वर्ष उमेर समूहका २०० भन्दा बढी युवाहरू सहभागी भएका छन्। यस सम्मेलनको उद्देश्य युवाहरूको सीप र ज्ञान अभिवृद्धि गर्नु, आपसी नेटवर्क निर्माण र नेतृत्व विकास गर्नु, र व्यक्तित्व विकासमा योगदान पुर्याउनु रहेको आयोजकले जानकारी दिएका छन् ।
सम्मेलनका प्रमुख विषयहरूमा डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा र सीपको आवश्यकता, जलवायु परिवर्तन र दिगो विकास, युवामा सीपमूलक तालिमको प्राथमिकता, नीति नेतृत्व र युवा संलग्नता, र मुख्यमन्त्रीसँग युवा विषयक छलफल समावेश छन्। यसका अतिरिक्त, सम्मेलनमा युवा पुस्ताको सफलताको कथा प्रस्तुत गरिने छ।
सम्मेलनको सुरुवात हेटौँडाको बुद्धचोकबाट खैजेडी भजन र झाँकीसहितको र्यालीबाट भएको थियो। यस सम्मेलनमा देशका सातै प्रदेशका युवाहरूको सहभागिता रहेको छ। अनलाइनमार्फत आवेदन दिएका प्रदेशभित्रका युवा र बागमती प्रदेशका ११९ वटै पालिकाबाट सिफारिस भएका युवाहरू सहभागी भएका छन् ।









