हैदराबादमा ७२ औँ मिस वर्ल्ड प्रतियोगिता सुरु, नेपालकी सृच्छा प्रधानको सहभागिता
काठमाडौँ -
७२ औँ मिस वर्ल्ड प्रतियोगिता तेलंगाना राज्यको हैदराबाद शहरमा सुरु भएको छ। शनिबार गाचिबोली स्टेडियममा एक भव्य उद्घाटन समारोह आयोजना गरिएको थियो, जसमा तेलंगानाका मुख्यमन्त्री ए. रेवन्त रेड्डी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। भारत र पाकिस्तान बीचको जारी तनावका कारण मुख्यमन्त्री उद्घाटनको प्रारम्भमा उपस्थित नभए पनि युद्धविरामको घोषणासँगै पछि कार्यक्रम स्थलमा पुगेका थिए। उनीसँगै मिस वर्ल्डकी सीईओ जुलिया मोर्लेले कार्यक्रमको औपचारिक सुरुवात गरे।
यस वर्षको प्रतियोगितामा ११० भन्दा बढी राष्ट्रका प्रतिनिधिहरू सहभागी छन्। नेपाललाई सृच्छा प्रधानले प्रतिनिधित्व गरिरहेकी छन्। उनले 'पञ्च प्रणाली' परियोजना प्रस्तुत गर्दै पर्यावरणीय सचेतना र सांस्कृतिक संरक्षणको महत्वलाई उजागर गर्दैछन्।
प्रतियोगिता ७ मेदेखि ३१ मे २०२५ सम्म सञ्चालन हुनेछ, जसमा विभिन्न सांस्कृतिक कार्यक्रम, कार्यशालाहरू र प्रतियोगिताहरू आयोजना गरिनेछन्। अन्तिम समारोहमा मिस वर्ल्ड २०२४ की विजेता क्रिस्टिना पिज्कोभा आफ्नो उत्तराधिकारीलाई ताज पहिराउने कार्यक्रम तय गरिएको छ।









