प्रधानमन्त्री ओलीको भनाइ: "संविधान संशोधन राष्ट्रिय सहमतिमा आधारित हुनेछ"
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी संविधान संशोधन प्रक्रिया राष्ट्रिय सहमतिमा आधारित हुने बताएका छन्। आइतबारको राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले कांग्रेस र एमाले बीचको सहमतिका आधारमा संविधान संशोधन गर्ने बताएका छन्। उनले भने, "सरकारमा रहेका व्यक्तिहरूको इच्छाले नभई सबैको इच्छा बुझेर सहमति खोजेर संविधानको संशोधन गर्ने हो।"
प्रधानमन्त्री ओलीले स्थिरता, सुशासनका साथै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउने गरी सरकारको कार्यक्रम आएको बताए। उनले जनताले फालेको राजसंस्थाका नाममा हुने हिंसात्मक गतिविधि स्वीकार्य नहुने भन्दै यसलाई कानुन अनुसार नियन्त्रण गर्ने स्पष्ट पारे। उनले संविधानले समाजवादोन्मुख व्यवस्था गरेका सन्दर्भमा क्रमिक रूपमा उक्त लक्ष्य हासिल गर्दै अघि बढ्ने धारणा राखे।









