५० डिलरलाई अष्ट्रेलिया भ्रमण,जस्मिन पेन्ट्स
काठमाडौँ - नेपाली रङ उद्योगमा अग्रणी भूमिका खेलिरहेको जस्मिन पेन्ट्स लिमिटेडले आफ्ना उत्कृष्ट ५० डिलरलाई सम्मानस्वरूप अष्ट्रेलिया भ्रमणमा पठाएको छ। कम्पनीले डिलरहरूको व्यवसायमा पुर्याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै यो अन्तर्राष्ट्रिय भ्रमण कार्यक्रम आयोजना गरेको हो।
कम्पनीका प्रबन्ध निर्देशक लक्ष्मण अर्यालका अनुसार, जस्मिन पेन्ट्सको सफलताको मुख्य आधार उत्पादन र प्रविधिसँगै डिलरहरूको निष्ठा र समर्पण हो। उनी थप्नुहुन्छ, "व्यावसायिक सीपमा थप निखार ल्याउन र अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्न यस्ता भ्रमण कार्यक्रमहरू निकै लाभदायी हुन्छन्।"
उक्त भ्रमण कार्यक्रम अन्तर्गत सहभागी डिलरहरूले अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानबेरा लगायतका प्रमुख सहरहरूको भ्रमण गर्नेछन्। भ्रमणका क्रममा उनीहरूले त्यहाँको रङ उद्योग, आधुनिक निर्माण प्रविधि र अन्तर्राष्ट्रिय बजार चलनबारे प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्।
त्यस्तै, कम्पनीका ब्रान्ड एम्बेसडर तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले यो भ्रमण मनोरञ्जन मात्र नभई व्यावसायिक दृष्टिकोण विस्तार गर्न उपयोगी हुने बताए। उनी सिड्नी र मेलबर्नका अन्तर्राष्ट्रिय क्रिकेट मैदानहरूको अवलोकन गर्ने योजना रहेको जनाउँदै यसले थप उत्साह प्रदान गर्ने उल्लेख गरे।
देशभर फैलिएको सशक्त डिलर नेटवर्कमार्फत नेपाली बजारमा विशेष पहिचान बनाएको जस्मिन पेन्ट्सले डिलरहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउने विश्वासका साथ यो कार्यक्रम अघि सारेको हो।









