लुम्बिनीमा २५६९औं बुद्ध जयन्ती समारोह सुरु(तस्बिरहरू)
काठमाडौँ - सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनीमा २५६९औं बुद्ध जयन्ती समारोह सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सो समारोहको उद्घाटन गरेका हुन्।
समारोहमा विभिन्न देशका प्रतिनिधि, भिक्षु, र स्थानीय नागरिकहरूको सहभागिता रहेको छ। बुद्ध जयन्ती मनाउन लुम्बिनी विकास कोषले एक करोड बजेट खर्च गर्दैछ। यसअघि आज बिहान मायादेवी मन्दिर परिसरबाट कार्यक्रमस्थलसम्म शोभा यात्रा निकालिएको थियो।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय र प्रदेश सांसदहरू, विभिन्न देशका राजदूत, भिक्षु, भिक्षुणी, उपासक, र सर्वसाधारणको उपस्थिति रहेको छ।
बुद्ध जयन्तीअन्तर्गत आइतबारदेखि नै लुम्बिनीमा विभिन्न कार्यक्रमहरू सुरू भएका थिए। आज सोमबार मूल समारोहसँगै कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह, र पश्चिम नवलपरासीको रामग्राममा भोलि मंगलबारसम्म विभिन्न कार्यक्रमहरू गरिँदै छन्।













