बनियानी-झापामा हावाहुरीले केराखेतीमा ५१ लाखको क्षति
काठमाडौँ - झापाको बाह्रदशी गाउँपालिकामा आइतबार साँझ आएको वर्षासँगैको हावाहुरीले ३० बिघामा लगाइएको केराखेती पूर्ण रूपमा नष्ट भएको छ। स्थानीयवासीका अनुसार, बत्तीसबिघे क्षेत्रका १५ घरपरिवारको केराखेतीमा करिब ५१ लाख रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको टोलीले स्थलगत निरीक्षण गरी क्षतिको विवरण सङ्कलन गरेको छ।
साथै, मेचीनगर नगरपालिका–१५ गाइनाबारीस्थित कामक्ष इण्डस्ट्रीज प्राइभेट लिमिटेडको प्लाई उद्योगमा पनि हावाहुरीले जस्ताले बनेको छाना उडाएको र सिसीटीभी क्यामेरा फुटाएर करिब २ लाख २० हजार रुपैयाँको क्षति पुर्याएको छ। दमक नगरपालिका–८ का ५५ वर्षीय दुर्गा प्रसाईंको गल्ला भण्डारमा पनि हावाहुरीले ३५ वटा जस्तापाता उडाएको र ५५–६० बोरा फापर पानीले भिजेर करिब १ लाख ५० हजार रुपैयाँको क्षति भएको छ।
यसैगरी, हल्दिबारी गाउँपालिका–४ बलटोलका ६९ वर्षीय सकलदीप साहको कच्ची घरमा पनि हावाहुरीले टिनको छाना उडाएर करिब १ लाख ५० हजार रुपैयाँको क्षति पुर्याएको छ। दमक नगरपालिका–४ सङ्गम चोककी ३८ वर्षीया कमला अधिकारी र ५२ वर्षीय भीमप्रसाद सिग्देलका घरका छानामा पनि हावाहुरीले क्षति पुर्याएको छ।









