सत्यमोहन जोशीको अर्धकदको शालिक ललितपुरमा अनावरण (तस्बिरहरू)
काठमाडौँ - ललितपुर महानगरपालिकाले आज बिहान महानगर प्राङ्गणमा स्व. सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरेको छ। यो शालिक जोशीको १०६ औं जन्मजयन्तीको अवसरमा महानगर प्रमुख चिरिबाबु महर्जनद्वारा अनावरण गरिएको हो।
महानगर प्रमुख महर्जनले कार्यक्रममा बोल्दै जोशीको योगदानलाई उच्च मूल्याङ्कन गर्दै भने, "जोशी मुलुककै गहना थिए।" उनले थपे, "स्व. जोशीले भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा ठूलो योगदान पुर्याएका थिए।"
महर्जनले झनाख्य पार्कमा थप शालिक नबनाउने निर्णय गरिएको जानकारी दिँदै भने, "झनाख्य पार्कमा ४ वटा शालिक भइसकेकाले पाँचौं शालिक नबनाउने निर्णय गरिएको छ।"
स्व. जोशी वि.सं. १९७७ सालको वैशाख ३० गते (सन् १९२० मे १२) ललितपुर जिल्लामा जन्मिएका थिए र २०७९ सालको असोज ३० गते आइतबार (सन् २०२२ अक्टोबर १६) १०३ वर्षको उमेरमा निधन भएका थिए। उनी नेपाली साहित्य, संस्कृति र इतिहासका महत्वपूर्ण व्यक्तित्व थिए र ६० भन्दा बढी पुस्तकका लेखक थिए। उनी तीन पटक मदन पुरस्कार प्राप्तकर्ता थिए र नेपाल भाषाका प्रमुख संस्थान नेपाल भाषा एकेडेमीका चान्सलरका रूपमा पनि कार्यरत थिए।









