रारा क्षेत्रको पर्यटन विकासका लागि पूर्वाधार सुधार र लगानीको आवश्यकता
काठमाडौँ - रारा क्षेत्रको पर्यटकीय सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्नका लागि पूर्वाधार सुधार र लगानीको वातावरण बनाउन पर्यटन व्यवसायी र स्थानीय सरोकारवालाहरूले जोड दिएका छन्।
काठमाडौँ–रारा नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटक बस व्यवसायी सङ्घ नेपाल (टीवान) का २२ सदस्यहरूको टोलीले रारा क्षेत्रको अवलोकन भ्रमण सम्पन्न गरेको हो। यस भ्रमणका क्रममा मुगु जिल्लाको सल्लेरीमा आयोजित अन्तक्र्रियामा स्थानीय तहमा पर्यटन सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि, तालिम र प्रशिक्षणको आवश्यकता र स्तरीय होटल पूर्वाधारका लागि थप सहयोगको आवश्यकता औँल्याइएको छ।
कार्यक्रममा बोल्दै स्थानीय छत्र साउदले रारालाई प्राथमिकता दिएकामा आभार व्यक्त गर्दै यसले स्थानीय जीवनस्तर र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। राराका होटल व्यवसायी देवीकृष्ण रोकायाले स्थानीय तहमा पर्यटन सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि आवश्यक रहेको बताउँदै तालिम, प्रशिक्षण र स्तरीय होटल पूर्वाधारका लागि थप सहयोगको आवश्यकता औँल्याए।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले रारालाई उत्कृष्ट गन्तव्यको रूपमा प्रस्तुत गर्दै संरचनागत रूपमा धेरै विकास भइसकेको बताए। उनले नियमित हवाई उडान र सडक सञ्जालले रारालाई सुगम बनाएको र पाहुना व्यवस्थापनका लागि भरपर्दो व्यवस्था रहेको बताए।









