सांसदद्वय दोङ र दाहालको सरकारमाथि बाढी पीडितको राहतमा ध्यान नदिएको गुनासो
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसदद्वय सूर्यमान दोङ र लेखनाथ दाहालले असोज ११ र १२ गते अविरल वर्षाले काभ्रे र सिन्धुलीमा पुर्याएको क्षतिको पुनर्निर्माणमा संघीय सरकारले ध्यान नदिएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदद्वयले बाढीको क्षति पीडित जनतालाई राहत दिन माग गरे।
सांसद दाहालले विपत् व्यवस्थापन कोषमा ७ अर्ब रुपैयाँ रहेको भए पनि सरकारले त्यो पैसा बाढी र पहिरो पीडितका लागि खर्च नगरेको बताए। उनले भने, "विपत् व्यवस्थापन कोषमा ७ अर्ब पैसा भए पनि सरकारले त्यो पैसा बाढी पहिरो पीडित कोशी र रोसी खोला किनारमा भएका जनताका लागि खर्च नगरेको छ।"
सांसद दोङले सरकारलाई जनताको पीडामा मलहम लगाउने काम गर्न आग्रह गर्दै भने, "सरकारलाई बाढीबारे जानकारी नभएको हो कि जानकारी भएर पनि जनताको पीडामा मलहम लगाउन नचाहेको हो?"









