कटहरिया, रौतहट – ६ महिनामा विवाह गरेकी २१ वर्षीया युवतीको शङ्कास्पद मृत्यु
काठमाडौँ - रौतहटको कटहरिया नगरपालिकामा २१ वर्षीया सानिया प्रविनको शङ्कास्पद मृत्यु भएको छ। माइती पक्षले दाइजोको कारण हत्या गरिएको आरोप लगाउँदै घटनाको छानबिन गरी कडा कानुनी कारबाहीको माग गरेका छन्।
सानीया प्रविनको मृत्यु आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय कटहरिया र गरुडाको संयुक्त टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको थियो।
मृतकका आमा कायमा खातुनका अनुसार, सानीयाको विवाह करिब ६ महिना अघि अरमान राय भाटसँग मुस्लिम परम्परा अनुसार भएको थियो। विवाहपछि ज्वाइँ अरमानले निरन्तर दाइजोको लागि सानीयालाई शारीरिक र मानसिक यातना दिँदै आएको आरोप छ। कायमाले दाबी गरेकी छन् कि ज्वाइँ र उनको परिवारले दिने गरेको यातना सहन नसकेर सानीयाको हत्या गरी आत्महत्या देखाउन खोजिएको हो।
माइती पक्षले छोरीको हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएको जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्र कानुनी प्रक्रिया अघि बढाइने बताए।









