सांसद गिरीद्वारा टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि तीन अर्ब ४२ करोड बजेट माग
काठमाडौँ - नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको टरिगाउँ विमानस्थललाई राजनीतिक दलहरूले चुनाव जित्ने भर्याङको रूपमा मात्र प्रयोग गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले सधैँ नीति तथा कार्यक्रममा विमानस्थलको स्तरोन्नति गर्ने भनिए पनि काम अगाडि नबढेको भन्दै आपत्ति जनाएका हुन्।
सांसद गिरीले आगामी आर्थिक वर्षको बजेटमा विमानस्थलको स्तरोन्नतिको लागि तीन अर्ब ४२ करोड रुपैयाँ विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘अस्ति भर्खरै नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा दाङ एयरपोर्ट बन्नेछ भनेका थिए, हामीले ताली बजाएका थियौं। फेरि त्यो कुरा नाटकीय ढंगले नहराओस्।’
सांसद गिरीले विगतदेखि नै निरन्तर आवाज उठाउँदै आए पनि प्रभावकारी ढंगले काम अगाडि नबढेकोप्रति असन्तोष व्यक्त गरे।









