सर्वोच्चले निवर्तमान गभर्नरअधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी
काठमाडौँ - नेपालको सर्वोच्च अदालतले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध दर्ता भएको रिटमा सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ।अधिवक्ता नवीन धितालले अधिकारी पदमा रहँदै गठित गभर्नर सिफारिस समितिमा नियुक्त गरिएको भन्दै आइतबार रिट दर्ता गरेका थिए। अधिकारीले चैत २४ मा उमेर हदका कारण अवकाश पाएका थिए।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा चैत १६ गते गभर्नर सिफारिस समिति गठन भएको थियो। समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई वैशाख १७ गते सो समितिमा नियुक्त गरिएको थियो।
रिटमा पदमा बहाल रहेकै अवस्थामा गठन भएको सिफारिस समितिमा बसेर काम गर्नु कानुनविपरीत भएको दाबी गरिएको छ।









