सशस्त्र प्रहरी सहायक निरीक्षक छन्त्यालले सगरमाथा सफल आरोहण गरे
काठमाडौँ - सशस्त्र प्रहरी बल नेपालका सहायक निरीक्षक दन्तबहादुर छन्त्यालले ८,८४८ मिटर अग्लो सगरमाथाको सफल आरोहण गरेका छन्। उनले २०८२ जेठ ४ गते बिहान ९:२० बजे सगरमाथाको चुचुरोमा 'सगरमाथा संवाद' र सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराउन सफल भएका हुन्। सगरमाथा आधार शिविरमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी दिएका छन्।
सहायक निरीक्षक छन्त्यालले २०८२ वैशाख २२ गते ६,११४ मिटर अग्लो लोबुचे हिमालको पनि सफल आरोहण गरेका थिए। उनले सशस्त्र प्रहरी बल नेपालको सन्देश 'तराई, पहाड, हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल' सहित सगरमाथा आरोहणका लागि २०८२ वैशाख १५ गते प्रस्थान गरेका थिए।
उनीलाई २०८२ वैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा आरोहणको शुभकामनासहित बिदाई गरेका थिए। सहायक निरीक्षक छन्त्याल सशस्त्र प्रहरी बल नेपाल नं। १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत छन्।









