सांसदको आक्रोश: करेन्ट लागी मृत्यु भएकाको घटनामा, हत्याको आरोप
काठमाडौँ - प्रतिनिधि सभाको आकस्मिक समयमा सांसदहरूले सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथानका २८ वर्षीय उपेश नेपालीको शनिबार धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत् पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको घटनामा गम्भीर आपत्ति जनाएका छन्। सांसदहरूले यसलाई दुर्घटना नभई हत्या भएको आरोप लगाउँदै छानबिनको माग गरेका छन्।
काभ्रेका सांसद सूर्यमान दोङ तामाङले भने, “हिजो काभ्रेमा एक मजदुरको ज्यान गएको छ, जिल्ला विद्युत् प्राधिकरणले बन्दको सूचना दिएता पनि मजदुर काममा रहेका बेला खोलियो। विद्युत् प्राधिकरणको गैरजिम्मेवारीका कारणले उपेश दमाईको मृत्यु भएको छ। त्यसको सत्य तथ्यको छानबिन होस्।”
त्यस्तै, सांसद शिव नेपालीले पनि घटनाको छानबिन गरी कारबाही गर्न माग गरे। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले पनि परियारको मृत्यु भएको नभइ हत्या भएको भन्दै मुद्दा चलाउन माग गरे। उनले भने, “जसरी घटना भएको छ, त्यो दुर्घटना मान्न सकिँदैन, त्यो हत्याको रुपमा दर्ज होस् र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता होस्।”
जिल्ला प्रहरी कार्यालयका अनुसार ११ हजार भोल्टको हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लाग्दा परियारको घटनास्थलमै मृत्यु भएको थियो। तार जोड्न खम्बामा चढेका परियारको विद्युत् प्राधिकरणले सूचना विना नै विद्युत् लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको बताइएको थियो।









