आईजीपी थापाको निर्देशन: राजावादी प्रदर्शनमा उच्च सतर्कता
काठमाडौँ - नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले आगामी १५ गतेको राजावादी प्रदर्शनमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। उनले राजनीति र संविधान विरोधी तत्वहरूको गतिविधि बढेको भन्दै यसलाई गम्भीरतापूर्वक लिन प्रहरी कार्यालय प्रमुखहरूलाई आदेश दिएका छन्।
आईजीपी थापाले नेपाल पुलिस क्लबमा आयोजित बैठकमा भने, “राजनीतिक व्यवस्था र संविधान विरोधी गतिविधि सल्बलाएको छ, यसलाई अत्यन्त गम्भीरतापूर्वक लिनुहोस्।” उनले प्रदर्शनका क्रममा कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने भन्दै सबै प्रहरी युनिटलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
थापाले कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनले भने, “प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुनेछ, त्यसका निम्ति सबै प्रहरी युनिटलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।”
यसैबीच, आईजीपी थापाले प्रहरी कर्मचारीबीचका कुटपिटका घटनाहरूलाई पनि गम्भीरतापूर्वक लिएका छन्। उनले ड्युटीको क्रममा वा कार्यालयको काममा पनि प्रहरी कर्मचारीले आपसमा झैझगडा गर्ने र हातपात गर्ने जस्ता अमर्यादित कार्य संगठनका लागि सह्य नहुने बताएका छन्। उनले भने, “गलत काम गर्ने कुनै पनि प्रहरी कर्मचारीलाई सजाय गर्ने संगठन विधिअनुसार कारवाही हुन्छ नै, अन दी स्पट त्यसरी हातपात गर्नु उचित काम होइन।”









