टोखाबाट बरामद २५ करोड बराबरको विदेशी मुद्राको मुख्य नाइकेलाई पक्राउ गर्न माग:सांसद खतिवडा
काठमाडौं - प्रतिनिधि सभाको सोमबारको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले टोखाबाट बरामद २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्राको मुख्य नाइकेलाई पक्राउ गर्न सरकारसँग माग गरेका छन्। उनले ड्राइभर र व्यापारीलाई समातेर मुद्दा थुन्ने प्रवृत्तिलाई अन्त्य गर्दै मुख्य दोषीसम्म पुगेर कारबाही गर्नुपर्नेमा जोड दिए।
खतिवडाले भने, “केही महिना अघि सरकारले काठमाडौं टोखाबाट २५ करोड बराबरको अवैध रकम युरो र डलर गरेर समात्ने काम गर्यो, एउटा ड्राइभर र व्यापारीलाई पक्राउ गर्यो, थुनेको छ। मूल त्यसको संरक्षण कसले गरिरहेको छ र त्यसको धनी को हो? अहिलेसम्म सरकारले पत्ता लगाउन सकेको छैन। सधैं ड्राइभर र लोडरलाई थुन्ने र धनी पत्ता नलगाउने प्रवृत्ति देखिएको छ। त्यसको कनेक्सन कहाँ–कहाँ छ, पत्ता नलगाउने? को–को संलग्न छन्, सदनलाई जानकारी गराइयोस्।”
यस घटनामा राजस्व अनुसन्धान विभागले आरोपी कुसाङ लामा र नारायण पौडेलविरुद्ध मुद्दा दायर गरेको छ। विभागका अनुसार, कुसाङ लामा र नारायण पौडेलले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३.४५ र ९ अनुसार कसूर गरेका छन्। उनले ट्रकमा लुकाएर ५००, २००, १०० र ५० दरका १३ लाख ७५ हजार १५० युरो र १०० र ५० दरका ३ लाख २० हजार ८ सय ५० अमेरिकी डलर बरामद गरिएका थिए।









