नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरिने
काठमाडौं - काठमाडौँ र धादिङ जिल्लालाई जोड्ने प्रमुख नागढुङ्गा–नौबिसे सडकखण्डमा आगामी जेठ १० देखि २५ गतेसम्म दिउँसो १०:३० बजेदेखि ३ बजेसम्म दैनिक ४.५ घण्टा सडक बन्द गरिने भएको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारीका अनुसार यसअघि रातको समयमा बन्द गरेर काम हुँदै आएको थियो, तर प्राविधिक कारणले अब दिउँसो काम गर्नुपर्ने आवश्यकता देखिएको छ। यसका लागि स्थानीय प्रशासनसँगको समन्वयमा अनुमति प्रदान गरिएको उनले जानकारी दिए।
यस बन्दको समयमा काठमाडौँबाट जाने सवारीसाधनलाई नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारीसाधनलाई खानीखोलामा रोकिनेछ। यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ। विशेषगरी, धार्के–सितापाइला र टोखा–छहरे त्रिशूली गल्छी सडकमार्गलाई प्रयोग गर्न सुझाव दिइएको छ।









