खुज्दर, बलुचिस्तानमा विद्यालय बसमा आत्मघाती बम आक्रमण, ४ मृतक
काठमाडौं - पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको खुज्दर जिल्लामा आज बिहान एक विद्यालय बसमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ। घटनामा ३८ जना घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर रहेको छ। अधिकारीहरूले मृतकको सङ्ख्या थप बढ्न सक्ने बताएका छन्।
आक्रमणको लक्ष्य सेनाको सरकारी विद्यालयको बस थियो, जसमा सैनिक र सर्वसाधारणका बालबालिका सवार थिए। बिहान विद्यार्थीहरूलाई विद्यालय लैजानका लागि बस चलिरहेको बेला आत्मघाती बम विस्फोट भएको खुज्दरका सरकारी अधिकारी यासिर इकबाल दाश्तीले जानकारी दिए।
आक्रमणको जिम्मेवारी तालिवानसम्बद्ध सशस्त्र समूह तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी)ले लिएको छ।









