हावाहुरीका कारण घरमाथि रुख ढल्दा बुहारीको मृत्यु, सासु घाइते
काठमाडौं - डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटामा बुधबार बिहान आएको हावाहुरीका कारण एक घरमाथि रुख ढल्दा बुहारीको मृत्यु भएको छ भने उनकी सासु घाइते भएकी छन्।
घटनामा आलिताल–६ दोबाटाका रतन कामीको घरमाथि ढलेको सल्लाको रुखले उनकी श्रीमती २७ वर्षीया रविना कामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। मृतकका सासु राधा कामी घाइते भएकी छन्। उनलाई स्थानीयले प्रहरीको सहयोगमा उद्धार गरी अस्पताल पुर्याएका छन्। घाइते राधाको कम्मर र टाउकोमा गम्भीर चोट लागेको बताइएको छ।
प्रहरीका अनुसार घरमाथिबाट ढलेको रुखले कामीको ज्यान लिएको हो। घटनाको अनुसन्धान भइरहेको छ। मृतकका एक छोरा र एक छोरी छन्। कामीको घर पूर्णरूपमा क्षति भएको छ।









