नेप्से परिसूचकमा गिरावट: आइतबारको कारोबारमा ८.५७ अंकको कमी
काठमाडौं - साताको पहिलो कारोबार दिन आइतबार, नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ८.५७ अंकको गिरावट आएको छ। यससँगै परिसूचक २६७९.९८ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.४६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंकले घटेको छ।
आइतबार ३१४ कम्पनीको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको मूल्य घटेको छ। एक कम्पनीको मूल्य स्थिर रहेको छ।
नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने माईक्रोफाइनान्स उपसमूहको परिसूचक ११२.९९ अंकले बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी १२१.२७ अंकले घटेको छ।
नेप्से परिसूचक घटे पनि ओम मेगाश्री फार्मास्युटिकल्सको सेयरमा सकारात्मक सर्किट लागेको छ। महुली लघुवित्त, रिभर फल्स पावर लिमिटेड, उन्नति सहकार्य लघुवित्त र सूर्योदय वोमी लघुवित्तको सेयर मूल्य बढेको छ। तर सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, दोर्दी खोला जलविद्युत्, ग्रिन डेभलपमेन्ट बैंक र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य घटेको छ।
यस दिन राधी जलविद्युत कम्पनीको ७१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। युनिभर्सल पावर कम्पनीको ३० करोड र ङादी ग्रुप पावरको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।









