गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संघीय संसद अवरुद्ध जारी राख्ने निर्णय गरेको छ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटार निवासमा शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा संलग्न गृहमन्त्री लेखकको राजीनामा अपरिहार्य भएको निष्कर्ष निकालेको हो।
पार्टीका सचिव लिलामणि पोखरेलले बैठकपछि जानकारी दिँदै भने, "छानबिनलाई सहज बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ। राजीनामा नआएसम्म संसद अवरोध जारी रहनेछ।"
गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै माओवादी केन्द्रसहित अन्य प्रतिपक्षी दलहरूले संसद लगातार अवरुद्ध गर्दै आएका छन्। तर जेठ १५ गतेको बजेट भाषणका लागि भने प्रतिपक्षी दलहरूले संसद अवरोध नगर्ने निर्णय गरेका थिए।









