राइड शेयरिङको विरोधमा गण्डकीमा सार्वजनिक यातायात ठप्प
काठमाडौँ - गण्डकी प्रदेश सरकारले राइड शेयरिङ तथा सेल्फ ड्राइभ सेवालाई कानुनी मान्यता दिने नियमावली जारी गरेपछि सार्वजनिक यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्।
शुक्रबार बिहानैदेखि गण्डकी प्रदेशभर लामो तथा छोटो दूरीका बस, ट्याक्सी र सार्वजनिक ढुवानी सेवा ठप्प हुँदा सर्वसाधारण यात्रुहरू मारमा परेका छन्। सरकारले व्यवसायीहरूसँग वार्ताका लागि समिति गठन गरेर आह्वान गरे पनि उनीहरूले सडक संघर्षलाई प्राथमिकता दिएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा भएको आन्दोलनमा करिब १६ हजार सार्वजनिक सवारी साधन थन्क्याइएको छ। व्यवसायीहरूले सरकारलाई दवाव दिन जेठ १९ गतेदेखि देशव्यापी सवारी सेवा बन्द गर्ने चेतावनीसमेत दिएका छन्।
गण्डकी प्रदेश सरकारले बैशाख ३० गते मन्त्रिपरिषदबाट पारित ‘राइड शेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापन नियमावली’ राजपत्रमा प्रकाशित गरेपछि यसले कानुनी प्रक्रिया पाएको हो।व्यवसायीको चर्किएको असहमति पछि सरकारद्वारा गठित वार्ता समिति (सचिव कमलकुमार अधिकारीको संयोजकत्वमा) ले जेठ १३ गते व्यवसायीलाई वार्तामा आउन औपचारिक अनुरोध गरिसकेको छ।









